एजेन्सी– आगामी महिना हुने ग्वाटेमाला र कोलम्बिया विरुद्धको मैत्रीपूर्ण खेलको लागि घोषित अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी टोलीमा परेका छैनन् । रुसमा भएको विश्वकप फुटबलपछि अहिले अन्तर्राष्ट्रिय फुटबलबाट केही समयको ब्रेकमा भएका कारण मेस्सी टोलीमा नपरेका हुन् ।


ADVERTISEMENT


अर्जेन्टिनाका अन्तरिम प्रशिक्षक लियोनल स्कलोनी मेसीले राष्ट्रिय टोलीका लागि अब खेल्ने वा नखेल्ने बारे जानकारी नरहेको बताएका छन् । प्रशिक्षक स्कालोनीले पनि मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबल सम्बन्धी आफ्नो निर्णय चाँडै लिन दबाब दिएका छैनन् ।


ADVERTISEMENT

# # #


आफूले मेस्सीसँग कुरा गरेको तर राष्ट्रिय टिममा चाँडै फर्किनका लागि दबाब भने नदिएको प्रशिक्षक स्कालोनीले बताएका छन् । स्कालोनीले पत्रकार सम्मेलनमा भने, ‘मैले मेस्सीसँग कुरा गरेको छु, तर म भविष्यमा के हुनेछ भन्ने बारे बोल्न चाहन्नँ ।’

उनले थपे, “हामीलाई थाहा छ उनले हाम्रो लागी के गरेका छन् भन्ने । मेरो मेसीसँग राम्रो सम्बन्ध छ र हामी हाम्रो कुरामा प्रष्ट छौं । हामीसँग अझ धेरै खेल खेल्नु छ र हामी भविष्यमा उनलाई हेर्नेछौं । कुनैपनि प्रशिक्षकका लागि मेसी टोलीमा नरहनु राम्रो खबर होइन।”

बार्सिलोनाका स्टार स्ट्राइकरले सन् २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीविरुद्धको हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । तर सन् २०१८ को विश्वकपका लागि भने उनी आफ्नो निर्णय उल्ट्याउँदै अर्जेन्टिनाको जर्सीमा फर्किएका थिए ।