काठमाडौँ – नेकपाका सांसद गजेन्द्र बहादुर महतले उर्जा मन्त्री वर्षमान पुन र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ‘श्री ३ महाराज’को संज्ञा दिएका छन् ।


ADVERTISEMENT


लामो समयदेखि जुम्ला सदरमुकाम खलंगामा बिजुली बिग्रँँदा पनि बनाउने चासो नदिएको र जुम्ली जनतालाई उज्यालो देऊ भन्दा फोन पनि नउठाएको र भेट पनि नदिएको भन्दै उनले आक्रोश पोखेका हुन् । ‘३८ सालमा बनेको बिजुली बन्न अझै चार महिना लाग्छ । फोन गरेर हामीले भेट्न खोज्यौँ ‘श्री ३ महाराज’लाई । ‘श्री ३ महाराज’ भनेको को भने कुलमान घिसिङ र उर्जा मन्त्री वर्षमान पुन । फोन पनि उठ्दैन । भेटघाट पनि पाईँदैन ।’ उनले भने, ‘यी श्री ३ महाराजको फोन कसरी उठ्ने हो ? यिनीहरुसंग भेट गर्न कसरी पाइने हो ?’


ADVERTISEMENT

# # #


उनले के विद्युत प्राधिकरण छैन ? के जुम्ला जिल्ला भन्ने नाम छैन भन्दै प्रश्न गरे । विजुलीका क्षेत्रमा प्रगती गरेको र भारतलाई बिजुली बच्दैछौँ भनेर धाक लगाएको भन्दै उनले बिजुली छ भने जुम्लालाई बेच्न आग्रह गरे । ‘जुम्लामा एक लाख मानिस बस्छन् । मोबाइल चलाउन नपाएर कति गाह्रो भइरहेको छ । दशैं तिहार आयो । तर हामीले यति प्रगती गर्यौँ भनेर यिनीहरु कुर्लेको कुर्ल्यै छन् ।’ उनले भने, ‘भारतलाई बत्ति बेच्दैछौँ भन्छन् । कृपया तपाईसंग बत्ति कति छ हामीलाई बेचिदिनुहोस् । जुम्लालाई बेचिदिनुहोस् तपाईहरु ।’

बत्ति नहुँदा जनता प्रभावित भएको र डिजेलमा लाखौँ रुपैयाँ गएको भन्दै भन्दै उनले जुम्लाको समस्या हेरिदिन माग गरे । उनले भने, ‘म फेरि पनि भन्न चाहन्छु यी श्र ३ महाराजलाई, तपाईहरुले हाम्रो पनि समस्या हेरिदिनुहोस् ।’

उनले उर्जामन्त्री पुन र निर्देशक घिसिङलाई जहाँ कमिसन आउँछ, त्यहीँ मात्रै सेवा विस्तार गरेको आरोप लगाए ।