काठमाडौँ – प्रमुख सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले अध्यक्ष केपी शर्माओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि बुधबार एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
यसअघि नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । तर, प्रधानमन्त्रीले भने राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने बताएका छन् । एमालेले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । उनले अबको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने भएको छ ।
कूल २७५ सदस्य रहेको प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक हुन्छ । तर, ८८ सदस्य रहेको एमालेद्वारा समर्थन फिर्ता र काँग्रेस प्रतिपक्षीमा रहँदा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना अन्त्य भएको छ ।
काँग्रेसले नेकपा एमालेसँग मिलेर नयाँ गठबन्धन बनाएको छ । संविधान संशोधन, राजनीतिक स्थायित्व लगायतका एजेण्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने काँग्रेस एमालेको सहमति छ । जसअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिले सरकारको नेतृत्व गर्ने र २०८४ को निर्वाचन अघि दोस्रो चरणमा काँग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्ने दुई दलले सहमति गरेका छन् ।
राप्रपा र मधेसकेन्द्रित दलहरुसमेत काँग्रेस-एमाले गठबन्धनको पक्षमा उभिएपछि प्रधानमन्त्रीको पक्षमा उनको पार्टी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी पार्टी मात्रै रहने देखिएका छन् ।



























































