काठमाडौँ – नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँ सरकार गठबनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नयाँ सरकार बनाउन प्रधानमन्त्रीले राजीनामा दिन उचित हुने ठहर गरेको हो ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६(२) बमोजिम के.पी. शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेकोमा प्रतिनिधि सभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ ।’
काँग्रेसले नेकपा एमालेसँग मिलेर नयाँ गठबन्धन बनाएको छ । संविधान संशोधन, राजनीतिक स्थायित्व लगायतका एजेण्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने काँग्रेस एमालेको सहमति छ । जसअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिले सरकारको नेतृत्व गर्ने र २०८४ को निर्वाचन अघि दोस्रो चरणमा काँग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्ने दुई दलले सहमति गरेका छन् ।
यस्तै काँग्रेस बैठकले असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई स्वागत समेत गरेको छ । काँग्रेस र एमालेबीच भएको सहमतिलाई कार्यान्वयन गर्न बैठकले दृढता व्यक्त गरेको छ ।



























































