काठमाडौँ – कपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सामूहिक राजीनामा दिएका छन् ।


ADVERTISEMENT


बुधबार एमालेले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै अघि एमालेबाट सरकारमा सहभागी आठ जना मन्त्रीहरुले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।


ADVERTISEMENT

# # #


राजीनामा दिनेहरुमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी , कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले रहेका छन् ।

चार महिनाअघि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको एमाले नेपाली काँग्रेससँगको सहकार्यमा आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीसहित सरकारबाट बाहिरिएको हो । यस्तै एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेको छ । यता एमालेको समर्थन फिर्तापछि प्रधानमन्त्री अल्पमतमा परेका छन् । यद्दपि उनले राजीनामा नदिएर प्रतिनिधिसभामा विश्वासको मतको सामना गर्ने भएका छन् । उनले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ ।

काँग्रेसले नेकपा एमालेसँग मिलेर नयाँ गठबन्धन बनाएको छ । संविधान संशोधन, राजनीतिक स्थायित्व लगायतका एजेण्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने काँग्रेस एमालेको सहमति छ । जसअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिले सरकारको नेतृत्व गर्ने र २०८४ को निर्वाचन अघि दोस्रो चरणमा काँग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्ने दुई दलले सहमति गरेका छन् ।