काठमाडौँ– यहि माघ ५ गतेदेखि मलेसियामा सुरु हुने यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ ।
शुक्रबार नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विश्वकप खेल्ने नेपाली टोलीको बिदाई गरेको हो ।
कार्यक्रममा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यान सचिव पारस खड्का लगायतले नेपाली टोलीलाई शुभकामना दिदै विदाइ गरेका थिए । सो क्रममा खेलकुदमन्त्री चौधरीले उच्च आत्मबलका साथै खेल प्रदर्शन गर्न शुभकामना व्यक्त गरे । नेपाली टोलीले बिजयका साथ नेपालको छाप छाड्ने उनाको भनाइ छ ।
त्यस्तै क्यान सचिव पारस खड्काले नेपाली महिला क्रिकेटका लागि यो प्रतियोगीता निकै महत्वपूर्ण रहेको र आगामी दिनमा महिला क्रिकेटलाई बलियो बनाउन भूमिका खेल्ने बताए ।
यू–१९ महिला टोलीका प्रशिक्षक महेश प्रसाद रिजालले भने विश्वकपका लागि निकै उत्साहित रहेको र तयारी पनि निकै राम्रो भएको जानकारी दिए । उनले १० दिन चितवनमा अभ्यास गर्दा टीमलाई सुधार गर्ने विषयमा ध्यान केन्द्रीत गरेको धारणा व्यक्त गरे ।
त्यस्तै यू–१९ कप्तान पूजा महतोले पहिलो पटक विश्वकपमा खेल्न पाउदा निकै खुसी लागेको भन्दै अन्य देशलाइ चूनौती दिने गरी खेल प्रदर्शन गर्ने बताइन् ।
माघ २० सम्म सञ्चालन हुने विश्व कपमा नेपाल सहित १६ टोलीले सहभागिता जनाउनेछन् । नेपाली महिला टिमले पहिलोपटक विश्वकप खेल्न लागेको हो ।
माघ ५ गते बंगलादेशविरुद्ध खेल्दै नेपालले विश्व कपको सुरुवात गर्नेछ भने दोस्रो खेलमा स्कटल्याण्ड र समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाको सामना गर्ने क्यानले जनाएको छ ।



























































