काठमाडौँ – काठमाडौँमा जारी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाली महिला टोलीले लज्जास्पद प्रदर्शन गरेको छ । नेपालले खेलेका ६ मध्ये ६ वटै खेलमा हार व्यहोरेको हो । शुक्रबार भएको अन्तिम खेलमा थाइल्याण्डसँग ७ विकेटले पराजित भएसँगै नेपाली महिला टोली जितविहीन बनेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली महिला टोली निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रनमै समेटियो । जवाफी ब्याटिङमा उत्रिएको थाइल्याण्डले ३ ओभर बाँकी छँदै ३ विकेट गुमाएर जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


थाइल्याण्डको जितका लागि कप्तान नारुमोल चाइवाईले सर्वाधिक २७ रन बनाइन् । नटआउट रहेकी उनले ३४ बलमा २ चौका प्रहार गरिन् । यस्तै फनिता मायाले २३, नट्टाया बुचाथमले ११ रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान इन्दु बर्माले २ विकेट लिइन् भने पूजा महतोका नाममा १ विकेट रह्यो ।

यसअघि ब्याटिङतर्फ नेपालकी सम्झना खड्काले १७, कविता जोशीले १४ तथा कप्तान इन्दु बर्माले १० रन जोडिन् । अन्यले दोहोरो अंक छुन सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा ओनिचा कामचोम्फुले सर्वाधिक ३ विकेट लिइन् भने चानिदा सुत्थिरुआङ, नट्टाया बुचाथम र सुलेपर्न लाओमीले समान १–१ विकेट लिइन् ।

यससँगै नेपाल, नेदरल्याण्ड र थाइल्याण्ड सम्मिलित सिरिज टुंगिएको छ । ६ मध्ये ५ खेल जित्दै थाइल्याण्डले सिरिजको उपाधि जितेको छ भने ६ मध्ये ४ खेल जितेको नेदरल्याण्ड्स दोस्रो भएको छ । नेपाले भने ६ मध्ये ६ वटै खेलमा हार व्यहोरेको हो ।