काठमाडौँ – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् ।
शुक्रबार काठमाडौं १ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नं २९ को वडा भवन उद्घाटन गर्दै उनले राजनीतिमा लागेर सेवा गर्ने र काम गर्नुपर्ने भन्दै काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका हुन् ।
उनले राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूको ठण्डा दिमागले लेखाजोखा गर्न पनि आग्रह गरे । त्यस्तै उनले नागरिकको सरकार स्थीर होस् भन्ने चाहनाअनुसार कांग्रेस एमाले मिलेर सरकार बनेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको पनि प्रष्ट पारे । त्यस्तै, फरक सन्दर्भमा उनले सार्वजनिक जग्गा जनताको लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्ने बताए । सरकारले त्यसका लागि काम गरिरहेको भन्दै नागरिकतहबाट सरकारलाई साथ दिन पनि सिंहले आग्रह गरे ।
उनले काठमाडौं क्षेत्र नं १ बाट आफूले संसदमा प्रतिधित्व गरेपछि सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको बताए । उनले अब स्वास्थ्यमा ध्यान दिनुपर्ने भन्दै प्रभावकारी वडा क्लिनिक बनाउनका लागि काम गर्नुपर्नेमा जोड दिए ।


























































