काठमाडौँ – प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको दशौं संस्करण आउँदो फागुन १० गते हुने भएको छ ।
नेपाली सेनाले शुक्रबार भद्रकालीमा पत्रकार सम्मेलन गर्दै २६२औं सेना दिवसको अवसरमा आगामी फागुन १० गते प्रधानसेनपति खुला म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो ।
४२.१९५ किलोमिटरको पुरुष खुल्ला म्याराथन, २१ किलोमिटरको पुरुष तथा महिला हाफ म्याराथन, १० किलोमिटर दौड र पाँच किलोमिटर वाकाथन र दौडको आयोजना हुने सेनाले जनाएको छ । ४२.१९५ किलोमिटरको पुरुष खुल्ला म्याराथनका बिजेताले तीन लाख रुपैयाँ नगदसहित एकथान मोटरसाइकल पुरस्कार जित्नेछन् । दोस्रो हुनेले दुई लाख र तेस्रो हुनेले एक लाख प्राप्त गर्नेछन् ।
त्यस्तै हाफ म्याराथनतर्फ बिजेताले ७५ हजार, दोश्रो हुनेले ५० हजार र तेश्रो हुनले ३५ हजार प्राप्त गर्ने सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले जानकारी दिए । उनले म्याराथनलाई यसवर्ष पनि सफलताका साथ सम्पन्न गर्न ट्राफिक व्यवस्थापनका लागि पनि छलफल भएको बताए । प्रवक्ता केसीले खेल क्षेत्रलाई सेनाले सदैव प्राथमिकतामा राखेको उल्लेख गरे ।
फुल म्याराथन भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय गेटबाट सुरु भएर त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, जगाते, कमलविनायक, पेप्सीकोला चोक, जडीबुटी चोक, चाबहिल, नागपोखरी पुरानो बसपार्क हुँदै भद्रकालीस्थित सेनाको मुख्यालयमा आएर टुंगिने बताइएको छ ।
हाफ म्याराथन भने भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय गेटबाट सुरु भएर त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, शिक्षण अस्पताल, पानीपोखरी, नागपोखरी, नारायणहिटी दक्षिण गेट, टुँडिखेल पूर्व गेट हुँदै भद्रकालीस्थित सेनाको मुख्यालयमा आएर टुंगिने सेनाले जनाएको छ ।


























































