काठमाडौँ – निजी क्षेत्रले सरकारले ल्याएको बजेटले आफूहरु उत्साहित भएको जनाएका छन् ।


ADVERTISEMENT


बिहीबार सरकारले बजेट सार्वजनिक गरेपछि संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उनीहरुले निजी क्षेत्रले दिएका सुझावहरुलाई समेटेर बजेट आएको भन्दै उत्साह देखिएको धारणा राखेका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेटमा निजी क्षेत्रले दिएका मध्ये धेरै सुझाव समेटिएको बताए । यसअघि बजेटमा रहेका विषयहरु कार्यान्वयन नहुँदा समस्या देखिएको भन्दै उनले अहिले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

‘हामीले दिएका अधिकांश सुझावहरु बजेटले सम्बोधन गरेको छ । बजेट पढ्ने बेलामा राम्रो लाछ, तर कार्यान्वयनको बेला त्यो अनुसार नभएको पाइन्छ ।’ उनले भने, ‘अहिलेको बजेटले निजी क्षेत्रलाई ड्राइभिङ सिटमा राखेर, प्राथमिकता दिएर सहकार्य गर्ने भनिएको छ । यस हिसाबले पनि यो फरक छ । निजी क्षेत्र उत्साहित छ ।’ उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावलाई कार्यान्वयन गर्दै जाने सरकारको प्रतिवद्धता सकारात्मक रहेको उनले बताए ।

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रलाई समेटेर बजेट आएकाले सकारात्मक रहेको बताए । सरकारले राखेको राजस्वको लक्ष्य समेत सम्भव रहेको उनले बताए । उनले बजेटलाई प्रभावकारी रुपमा कार्यान्यन गर्न सके लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हुन सक्ने धारणा राखे ।

‘यो विषम् परिस्थितिमा निर्माण गरिएको बजेट हो । निजी क्षेत्रले गरेका धेरै मागहरुलाई बजेटले सम्बोधन गरेको छ । यसलाई सकारात्मक रुपमा लिएका छौँ ।’ उनले भने, ‘राजश्व संकलन, ऋण, अनुदान र पूँजीगत खर्च सोचे अनुसार भए ६ प्रतिशतको आर्थिक वृद्धिदर र मुद्रास्फिती ५.५ प्रतिशतमा राख्न सकिन्छ । त्यसका लागि मौद्रिक नीति पनि सहजीकरण गर्न जरुरी छ ।’

त्यस्तै अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बजेटलाई मुस्कानका साथ स्वागत गरिएको बताए । नाडाको मागलाई सरकारले अर्थपूर्ण रुपले समेटेको उनले बताए ।

अन्य व्यवसायीहरुले अब सरकारले बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।