काठमाडौँ — पशुपति क्षेत्र विकास कोषद्वारा खरिद गरिएको विद्युतीय शवदाह मेसिनमा व्यापक भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।


ADVERTISEMENT


मुद्दामा कोषका तत्कालीन सदस्यसचिव डा। मिलनकुमार थापा सहित कर्मचारी, परामर्शदाता र आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिहरूलाई प्रतिवादी बनाइएको छ। अख्तियारको अनुसन्धान अनुसार परामर्श सेवा प्रदान गर्ने जिम्मा अनुभवविहीन कम्पनीलाई दिइएको, नक्कली विज्ञ र फर्जी कोटेसन तयार गरी लागत कृत्रिम रूपमा बढाइएको, करिब ५२ लाख रुपैयाँमा पाइने शवदाह मेसिनलाई १ करोड ५२ लाख रुपैयाँ मूल्य देखाई ठेक्का दिइएको र म्याप इन्टरप्रेनर्स कम्पनीलाई अनुकूल हुने गरी छनोट मापदण्ड तय गरिएको थियो।


ADVERTISEMENT

# # #


यसबाहेक, मेसिन जडान हुनु पूर्व नै १ करोड ८२ लाख रुपैयाँ पेस्की भुक्तानी गरिएको, आवश्यकता भन्दा बढी अनुभवको मापदण्ड राखी प्रतिस्पर्धा सीमित गरिएको र छुटसमेत लागत अनुमानमा जोडेर अस्वाभाविक रूपमा बढी लागत देखाइएको पाइएको छ। अख्तियारका अनुसार तीनवटा कम्पनीबाट दररेट माग गरी ‘एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सल्टेन्सी प्रा। लि।’ लाई कार्यादेश दिइएको थियो। सो कम्पनीसँग मिलेमतो गरी अनुभव नभएका परामर्शदाताबाट फर्जी कोटेसन तयार गराई, अनुकूल स्पेसिफिकेसन तय गरी मनपर्ने कम्पनीलाई ठेक्का दिइएको खुलेको छ।

त्यस्तै, असम्बन्धित व्यक्तिहरूलाई सरकारी खर्चमा विदेश भ्रमण पठाइएको र ठेक्का सम्झौताको म्याद तथा पेस्की जमानतको म्यादसमेत समाप्त भइसकेपछि पनि कार्य सम्पन्न नभएको पाइएको छ। जडान गरिएका दुईवटा शवदाह मेसिन बारम्बार बिग्रिने, गुणस्तरहीन देखिने र अहिलेसम्म सञ्चालनमा आउन नसकेको आयोगको निष्कर्ष छ।

कुल १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बराबरको भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले सार्वजनिक पदको दुरुपयोग गरी राज्यलाई गम्भीर आर्थिक नोक्सानी पुर्‍याएको अभियोगमा दोषीहरूमाथि कडा कानुनी कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।