काठमाडौँ– खानेपानी मन्त्री प्रदीप यादवले सन् २०३० सम्म ९० प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच पुर्याउने सरकारको योजना रहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदैं मन्त्री यादवले उपलब्ध स्रोत साधनको प्रयोग गरी २०३० सम्म ९० प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच पुर्याउने सरकारको योजना रहेको बताएका हुन् ।
खानेपानीको क्षेत्रमा विनियोजित बजेटमा विभेद भएको भन्ने आरोप जायज नभएको भन्दै मन्त्री यादवले देशका सबै स्थानमा स्वच्छ खानेपानी उपलब्ध गराउने गरि मन्त्रालय अघि बढेको जिकिर गरे ।
संघीयताको मर्म अनुसार तीनै तहको सरकारको समन्वयमा खानेपानी सहज रुपमा उपलब्ध गराउने उनले बताए । उनले सन्तोषजनक रुपमा खानेपानी वितरण गर्ने योजनामा अझै पनि रकम अभाव रहेको गुनासो गरे ।
त्यस्तै मन्त्री यादवले काठमाडौं उपत्यकामा बाह्रै महिना खानेपानी उपलव्ध गराउन शिवपुरी निकुञ्जभित्र रहेको बागमति खोलाबाट पानी ल्याउन खोज्दा निकुञ्जले रोकेको बताए । खानेपानी मन्त्रालयलाई खानेपानीको पाइप राख्न नदिने निकुञ्जले निजी क्षेत्रलाई भने विना रोकतोक पाइप राख्न दिएको भन्दै उनले वन मन्त्रालयको ध्यानाकर्षण गराए ।
मन्त्री यादवले बजेटको सीमाभित्र रही मन्त्रालयले बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भइरहेको आयोजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर बजेट बाँडफाँड गरिएको दावी गरे ।