काठमाडौँ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल–इरान युद्धका कारण समस्यमा परेका नेपालीहरुको उद्धारका लागि सरकारले आवश्यक पहल गरिसकेको बताएकी छन् ।
प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री राणाले इजरायल–ईरानबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई अत्यन्त गम्भीरताका साथ लिँदै ती क्षेत्रहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको बताएकी हुन् । अनलाइन पोर्टल खोलेर नेपालीहरूको विवरण लिन शुरू गरिएको र उक्त पोर्टलमा हालसम्म ८८५ जनाले विवरण दर्ता गरिसकेको उनले जानकारी दिइन् ।
ईरानमा रहेका १६ जना नेपालीहरूलाई उद्धार गरिदिन भारत सरकारलाई अनुरोध गरिएकोमा इरानस्थित भारतीय राजदूतावासको सहयोगमा ११ जनालाई नेपाल फर्काउने प्रकृया शुरू भएको उनले बताइन् । त्यस्तै मन्त्री राणाले विपिन जोशीको रिहाईका लागि सरकारले शुरु देखि नै उच्च तहमा द्धिपक्षीय र बहुपक्षीयस्तरमा कूटनीतिक पहललाई निरन्तरता दिई आएको धारणा राखिन् ।
मन्त्री राणाले सीमा सम्बन्धी समस्याका सन्दर्भमा द्विपक्षीय उच्चस्तरीय वार्ता एवं स्थापित संयन्त्रद्वारा समाधानका पहल जारी रहेको जिकिर गरिन् । उनले परराष्ट्र मन्त्रालयले आर्थिक कूटनीतिलाई परराष्ट्र नीतिको एक प्रमुख आधार मानेर विदेशस्थित नियोगहरूलाई व्यापार, वैदेशिक लगानी, पर्यटन तथा प्रविधि प्रवद्र्धनमा सक्रिय बनाउँदै आएको जनाइन् ।
उनले राजदूतहरूको नियुक्ति “राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५” र प्रचलित नियम कानून अनुसार भई आएको जिकिर गरिन् । श्रम सहचारीका सम्बन्धमा प्रचलित कानूनबमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट नै छनौट भई आएकालाई पठाउने गरिएको उनको भनाइ छ ।