काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने नेपाल भ्रमण उपलब्धि र फलदायी रहेको नयाँदिल्लीले बताएको छ ।
नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा आएका उनी आइबार र सोमबार काठमाडौंमा उच्चस्तरीय भेटवार्ता तथा शिष्टाचार भेटहरू सकेर नयाँ दिल्ली फर्किएका छन्।
भ्रमणका क्रममा मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतासँग भेटवार्ता गरे।
उनले भारतीय नेतृत्वको तर्फबाट नेपालको नेतृत्वलाई शुभकामना दिँदै दुई देशबीच विभिन्न सहकार्यका क्षेत्रमा भएको प्रगतिबारे जानकारी गराए।
विदेश सचिव मिस्रीले प्रधानमन्त्री ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भ्रमणको औपचारिक निमन्त्रणा पनि हस्तान्तरण गरेका छन्।
दुवै पक्षले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा विस्तृत छलफल गर्दै भौतिक र डिजिटल पूर्वाधार, ऊर्जा, रक्षा र सुरक्षासहितका क्षेत्रमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरेका भारतीय विदेश मन्त्रालयले सोमबार अपराह्न जनाएको छ ।
उनले नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देललाई पनि भेटी नेपाली सेनालाई लाइट स्ट्राइक भेहिकल (एलएसभी), क्रिटिकल केयर मेडिकल इक्विपमेन्ट र सैन्य जनावरहरु सहित रक्षा सामाग्रीहरु र उपकरणहरु हस्तान्तरण गरे ।
विभिन्न भेटघाटका क्रममा दुवै पक्षले भौतिक कनेक्टिभिटी, डिजिटल कनेक्टिभिटी, रक्षा र सुरक्षा तथा ऊर्जा सहकार्य सहित द्विपक्षीय सहकार्यका विविध क्षेत्रहरुमा हालैका वर्षहरुमा भएका ठोस प्रगतिमा सन्तुष्टि व्यक्त गरे ।
छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । विदेश सचिवको भ्रमणले दुई देशहरु बीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै यसले द्विपक्षीय सम्बन्धलाई थप अगाडि बढाउन मद्दत गरेको भारतको विश्वास छ ।


























































