काठमाडौँ– सरकारले एनालग प्रविधिका केबल टेलिभिजनको प्रशारण बन्द गर्ने भएको छ । डिजिटल टेलिभिजन प्रसारण सुरु गरिसक्नु पर्ने समयसीमा सकिए पछि मन्त्रालयले अब चाँडै नै एनालग टिभी बन्द गर्ने भएको हो ।


ADVERTISEMENT


अब चाँडै नै एनालग प्रविधिका केबल टेलिभिजनलाई विस्थापित गरेर देशभर नै डिजिटल टेलिभिजन प्रसारण सेवा सुरु गर्ने सूचना तथा सञ्चार मन्त्रालयका सह–सचिव प्रेम कुमार श्रेष्ठले हिमालयपोष्टलाई बताए । उनका अनुसार निर्वाचनमा मतदाता शिक्षाका लागि सहज होस् भनेर तत्काल बन्द नगरिए पनि अब मन्त्रालय डिजिटल टेलिभिजन प्रशारण सेवा सुरु गर्न लागेको छ ।


ADVERTISEMENT

# # #


सरकारले २०६९ मा राष्ट्रिय नियमावलीमा संशोधन गरी केबल सञ्चालकहरूलाई एनालगबाट डिजिटल प्रणालीमा लैजाने व्यवस्था गरेको थियो । त्यसअनुसार पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्र गत बैशाख १५ गते र बाहिर कार्तिक १५ गतेसम्म डिजिटल टेलिभिजन प्रसारण सुरु गरिसक्नु समय सीमा तोकेको थियो । तर निर्वाचनलाई ध्यानमा राखी सरकारले एक महिना अर्थात मंसिर मसान्तसम्म एनालग टिभी बन्द नगर्ने निर्णय गरेको थियो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आइटियु)ले गत अंग्रेजी वर्षको डिसेम्बरसम्ममा एनालग प्रविधिलाई विस्थापित गर्दै डिजिटलमा जान आफ्ना सदस्य राष्ट्रहरुलाई निर्देशन दिएको थियो। सो अनुसार नेपाल सदस्य राष्ट्र भएकाले निर्णय ढिलै भएपनि कार्यान्वयन गराउनै पर्ने बाध्यता छ।

के हो एनालग प्रविधि ?

एनालग टेलिभिजन पुरानो प्रविधि हो । यसमा अडियो र भिडियोलाई एम्प्लिच्युड वा फ्रिक्वेन्सीमार्फत सिग्नल पठाइन्छ । यो एकतर्फी हुन्छ भने तस्बिर र साउन्डको गुणस्तर कम हुन्छ । एनालग केबलमा एउटै केबलबाट धेरैजनाले टिभि हेर्न सकिने हुँदा गुणस्तर कम हुन्छ । यो प्रविधि गुणस्तरहीन भएकाले सन् १९५० को दशकदेखि नै विकसित देशहरुले हटाइसकेका छन् ।

के छ डिजिटल प्रविधिमा ?

डिजिटल टिभीमा पिक्चर र ध्वनी उच्च गुणस्तरीय हुन्छ । यसमा आफूले हेरिरहेको च्यानलमा दुई वा सोभन्दा बढी कार्यक्रम हेर्न सकिन्छ । समान्य टेलिभिजनमा समेत डिजिटल टेलिभिजनमा गुणस्तरीय दृष्य हेर्न र अडियो सुन्न सकिन्छ ।

यसमा टेलिभिजनबाटै म्यासेज पठाउन र पाउन, युट्यूव च्यानल हेर्न, अनलाइन गेम खेल्न पनि सकिन्छ । यसमा आफूले चाहेको कार्यक्रम रेकर्ड गरेर पनि हेर्न वा सुन्न सकिन्छ ।

कसरी जोड्ने डिजिटल टिभी ?

उपभोक्ताले आफ्ना पुरानै टेलिभिजनमा सेटअप बक्स जोडेर डिजिटल टेलिभिजन प्रसारण सेवा लिन सक्छन् । डिटिएच, आइपिटिभी, डिटिटिबीलगायतका टेलिभिजन प्रसारण प्रणाली सुरुवाती चरणदेखि नै डिजिटल प्रविधिमा सञ्चालनमा छन् । अहिले केबल वितरकहरू आफैँले डिजिटल प्रणालीमा आधारित प्रसारण केन्द्र (डिजिटल हेडइन्ड) स्थापना गरेर टेलिभिजन प्रसारणलाई डिजिटल बनाइरहेका छन् । जसअनुसार एनालग प्रविधिमा सेवा लिइरहेका उपभोक्ताले अनिवार्य रूपमा सेटअप बक्स जडान गर्नुपर्ने हुन्छ ।

डिजिटल टेलिभिजनमा फोटो तथा भिडियो सफा र वास्तविक देखिन्छ तथा आवाज पनि स्पष्ट सुनिन्छ । एनालग प्रवधिको केबल टिभीको प्रसारणलाई डिजिटलाइज्ड गरेपछि हालको भन्दा उच्च गुणस्तरयुक्त अडियो तथा भिडियोका साथ टेलिभिजन हेर्न सकिन्छ । डिजिटल टेलिभिजनमा इन्टरनेट, गेम, रेकर्डिङलगायत भ्यालु एडेड सर्भिस पनि उपलब्ध हुन्छन् ।